


भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ अमेरिकामा १ करोड ५ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ राहत रकम संकलन भएको छ।

कांग्रेसको केन्द्रीय कार्यालयको पत्राचारअनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाले सञ्चालन गरेको राहत संकलन अभियानबाट उक्त रकम जुटेको हो। समितिका अध्यक्ष मुनिन्द्र नेम्वाङका अनुसार अमेरिकामा रहेका समितिका विभिन्न च्याप्टर, तिनका सदस्य तथा शुभेच्छुकबाट ऐच्छिक रूपमा रकम संकलन गरिएको थियो।
संकलित रकममध्ये ठूलो हिस्सा ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेम्वाङले जनाए।
राष्ट्रिय विपद्को कठिन घडीमा राहत संकलन अभियानमा सक्रिय सहभागिता जनाउने सबै च्याप्टर समिति तथा स्वेच्छिक आर्थिक सहयोग गर्ने दातालाई समितिले धन्यवाद दिएको छ। अभियान सफल बनाउन संयोजक एवं समितिका वरिष्ठ उपसभापति विनोद भट्ट, महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोखरेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत र सदस्य हरि खनाल लगायतको भूमिका रहेको नेम्वाङले उल्लेख गरेका छन्।




