


काठमाडौ ।प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मंगलबार टेलिफोन वार्ता गरेका छन्।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए।

उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकता समेत औंल्याएका थिए।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहज्यूले मलेसियाली समकक्षीसँग भनेको कुरा उदृत गर्दै सचिवालयले भन्यो, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैंका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले सकारात्मक रूपमा लिएका छन्।




