


बैतडी ।सिगास गाउँपालिकाका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २५ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। प्रदेश कमिटी सदस्यदेखि जिल्ला तथा गाउँपालिका कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरूले पार्टीको प्रदेश कमिटी कार्यालय धनगढी, कैलालीलाई सम्बोधन गर्दै सामूहिक राजीनामा घोषणा गरेका हुन्।
सिगास गाउँपालिकाका विकास योजनाहरू प्रदेश सरकारको बजेटमा समावेश नभएको भन्दै पार्टीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको प्रदेश कमिटी सदस्य तथा गाउँपालिका कमिटी संयोजक प्रकाश सिंह साउदले बताए।
उहाँका अनुसार सिगासका विभिन्न विकास योजनालाई प्रदेश सरकारको बजेटमा समावेश गराउन पटक–पटक प्रदेशमा पहल गरिएको थियो। बजेटमा योजना समावेश हुने आश्वासनसमेत पाए पनि अन्ततः सिगासका योजनालाई प्राथमिकता नदिइएको साउदको भनाइ छ।
“प्रदेश सरकारमा हाम्रो पार्टी छ, मुख्यमन्त्री पनि हाम्रै पार्टीका हुनुहुन्छ। सिगासका मुख्य समस्या र विकासका योजना लिएर प्रदेशमा गएका थियौँ। बजेटमा योजना समावेश हुने आश्वासन पनि पाएका थियौँ। तर आफ्नै पार्टी सरकारमा हुँदा पनि सिगासका योजना बजेटमा समावेश गरिएनन्। त्यसपछि यो पार्टीमा बसिरहन मन लागेन,” साउदले भने

सिगास गाउँपालिकाको विकासलाई प्रदेश सरकारले प्राथमिकता नदिएको र स्थानीय आवश्यकताअनुसार पर्याप्त बजेट विनियोजन हुन नसकेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरिएको उहाँले बताए।
सामूहिक राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य तथा सिगास गाउँपालिका इन्चार्ज कृष्ण सिंह साउद, सहइन्चार्ज जसवीर सिंह साउद, गाउँपालिका कमिटी संयोजक प्रकाश सिंह साउद, सहसंयोजक उद्धव सिंह धामी, प्रदेश कमिटी सदस्यहरू प्रेम सिंह धामी र दानसिंह धामी खुटाभाइ रहेका छन्।
त्यस्तै, पूर्व गाउँपालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य खेमसिंह धामीसहित जिल्ला कमिटी सदस्यहरू वीरबहादुर विक विशाल, टेकबहादुर चन्द, चन्द्र सिंह ऐर, रविन्द्रबहादुर चन्द, जसवीर सिंह धामी कुशल, भीमबहादुर धामी, दान सिंह साउद, जय सिंह धामी र राजेन्द्र सिंह धामीले पनि राजीनामा दिएका छन्।
गाउँपालिका कमिटीका पदाधिकारीहरू लोकेन्द्र सिंह ऐर, भानबहादुर साउद, तिलक ऐर, दानसिंह धामी, सुरमा साउद र विनोद चन्द तथा अमरसिंह साउद र नवीन सिंह साउदले समेत सामूहिक राजीनामा दिएको जनाइएको छ।
राजीनामा प्रकरणबारे पार्टीको प्रदेश तथा जिल्ला नेतृत्वको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।




