


बैतडी ।बैतडीको पुर्चौडी नगरपालिकामा नगरस्तरीय उपमेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ।
पुर्चौडी नगर खेलकुद विकास समिति, हाटको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन समारोह नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर ओडको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम प्रमुख अतिथि तथा नगर उपप्रमुख मीना धानुक विशिष्ट अतिथि रहेका थिए।कार्यक्रममा निवर्तमान सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, नगर प्रवक्ता धीरेन्द्रबहादुर बम, वडा नम्बर १ का अध्यक्ष गणेश गडाल, वडा नम्बर ५ का अध्यक्ष नागी खडायतलगायतको उपस्थिति थियो।
त्यसैगरी नेकपा एमालेका प्रदेश कमिटी सदस्य जनक बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामसिंह साउद, नेपाली कांग्रेसका नगर सभापति मोहनसिंह साउद, नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनिलाल विक (मनोज), विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र अन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ १४ गरी कुल १९ समूहले सहभागिता जनाएको नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर ओडले जानकारी दिए।
केही समूहबीचका खेल उद्घाटनकै दिन सञ्चालन भए पनि अधिकांश खेल मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भलिबलका प्रदेश रेफ्री हिमालय बिष्टले जानकारी दिए।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले खेलकुदमा अनुशासनको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सहभागी खेलाडीहरूलाई अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टोलीले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ३१ हजार १११ रुपैयाँ, तृतीय हुने टोलीले २१ हजार १११ रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ११ हजार १११ रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सर्भर महिला र पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत स्वस्थ र अनुशासित समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले स्वागत मन्तव्य राखेका थिए भने गलिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले कार्यक्रम सञ्चालन गरेका थिए।




