


बैतडी: पौष २८
बैतडीको सुर्नया गाउँपालिका वडा न. ६ मा एकजनाको शव गाडेको अवस्थामा भेटिएको छ । सुर्नया ६को धुलिधार जंगलमा अोढारभित्र शव गाडेको अवस्थामा फेला परेको हो । गत हप्ता मात्रै आफुलाई हपहरण गरेको भनी फेसबुकमा स्टाटस लेखेका हरिश अवस्थीले आफुले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो ।
अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछी सडेको अवस्थामा शव भेटाएको हो ।

शव स्थानिय ३२ बर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरिक्षक बोधराज ओझाले भन्नुभयो,‘केहि दिन अघि हराएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दिया बाट उद्धार गरेको थियो । तर उस्ले आफैले मान्छे मारेर भागेको भनेपनि हामी ले ओढार भित्र खनेपछि शव भेटाएका हौँ । यस बिषयमा थप अनुसन्धान भैरहेको छ ।’ साझँ ६बजे शव निकालिएपछी पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।
आफुले हत्या गरेको स्वीकार गरेका अवस्थीले गतहप्ता आफ्नो फेसबुकमा केहिमान्छेले आफुलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्टाटस लेखेका थिए । उनले गाउँकै मान्छेहरुले आफुलाई मार्न खोजेकाले बचाउन आग्रह समेत गरेका थिए उनले आफुलाई तिर्थराज अवस्थी र अम्बादत्त अवस्थीले विप्लवका कार्यकर्ता लगाएर मार्न लागेको आरोप लगाएका थिए ।
आफुलाई शौचालयमा थुनेको भन्दै बैतडी प्रहरी र बर्दिया प्रहरीलाई उद्धारका लागि याचना गरेका थिए । अहिले उल्टै आफुले हत्या गरेको भनेपछि प्रहरी नै चकित परेको छ ।




