



बैतडी -दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको शव ल्याउन थालिएको छ। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव भारतीय भूमि हुँदै ल्याउन लागिएको प्रहरीले बताएको छ। दार्चुला प्रहरीका अनुसार भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधवार निकालिएका तीनै जनाको सनाखत भएको छ। भिरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको हो। उनीहरुको शव बिहिवार भारतीय भूमि हुँदै खलंगा ल्याउन थालिएको हो। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइने भएके छ।




