



सुर्खेत, जाजरकोट — भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि नियमित औषधि नै सेवन गर्न पाएका थिएनन्,’ जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले भनिन्, ‘एक त रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन सकेन ।’ दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उनले बताए ।




