


बैतडी -दक्षिण एसियाकै लामो गुफा दावी गरिएको बैतडीको सर्नुया गाउँपालिका २ स्थित पत्ताल भुवनेश्वर गुफाभित्र आज गएको ५ जनाको टोली एक किलोमिटर तल पुगेर फर्किएको छ ।
दिउँसो १ बजेर ११ मिनेटमा गुफा विषेशज्ञ बेलायतका पिटर एलिसन तथा बाङ्लादेशका आरिफ गोइया, पत्ताल भुवनेश्वर धार्मिक बनका अध्यक्ष अरुण बिष्ट, स्थानीय कैलाश चन्द र पत्रकार अमरराज भट्टराईको टोली ६ घण्टापछि साँझ ६ बजे फर्किएको हो ।
यसअघि फ्रान्सेली गुफा विषेशज्ञको टोली पुगेको ठाउँभन्दा थप गहिराइमा पुगिएको गुफाका बारेमा जानकार कैलाश चन्दले बताए । आजका मुख्य हयोगी समेत रहेका चन्दले गुफामा पानीको भेलले बगाएर लगेको पातपतिङ्गर सहितको माटोका कारण थप गहिराइमा जान नसकिएको बताए । कैलाश चन्द करिब २ हजार मिटरको गहिराइमा पुगिसकेका छन् ।

आज भएको अनुगमनका क्रममा पनि गुफा विषेशज्ञ बेलायतका पिटर एलिसनले गुफाको गहिराई धेरै नै रहेको बताएका छन् । ‘अन्तिम बिन्दुमा नपुगुन्जेलसम्म केहि भन्न सकिन्न,’ टोलीका सदस्य पत्रकार अमरराज भट्टराईले पिटरको भनाईलाई उदृत गर्दै भने, ‘गुफा निकै गहिरो रहेछ, अन्तिम विन्दु पत्ता लगाउन सजिलो पनि छैन ।’
भित्र निकै साघुरो रहेकाले धेरै तल जान नसकिएको टोलीका अर्का सदस्य अरुण बिष्टले बताए ।
२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले करिब ८ सय मिटर गहिराइमा पुगेर फर्किएको थियो ।
जर्मन गुफा विशेषज्ञको टोलीले पनि गुफाको अन्तिम बिन्दु पत्ता लगाउन सकेको थिएन । करिब ३ हजार मिटरभन्दा बढी लामो गुफा रहेको त्यतीबेला नै दाबी गरिएको थियो ।




