


बैतडी -सुदूरपश्चिममा सुत्केरी र गर्भावस्थाको मृत्युदर भयावह बन्दै गएको छ। समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउने महिलाको संख्या बढ्न थालेको छ।पछिल्लो १२ महिनामा मात्र उपचार नपाएर भएको मातृमृत्यु सुदूरपश्चिममा ३६ रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिनभित्र आमाको मृत्यु हुनुलाई मातृ मृत्युका रूपमा परिभाषित गरेको छ। घरमै, अस्पताल लैजाँदा बाटोमै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको पाइएको छ।
अहिले पनि जटिल समस्याको उपचारका लागि पालिकास्तरको स्वास्थ्य संस्थामा सम्भव नहुनु र जिल्ला अस्पताल रेफर गर्दा निकै ढिला भइसक्ने भएकाले सुत्केरीको मृत्यु हुने गरेको छ। बच्चा जन्मिसकेपछि उच्च रक्तस्रावका कारण मृत्यु हुने गरेको समेत देखिएको छ। गर्भावस्थामा ८ पटक र बच्चा जन्मिसकेपछि चारपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने मापदण्ड छ।
समयमै अस्पताल पुर्याउन दुर्गम भेगका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारको सुविधा दिए पनि प्रभावकारी हुन सकेको छैन। राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गतको यो सुविधा समयमै लिन नपाउँदा गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन्। उद्धारका लागि ढिला खबर आइपुग्ने, प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्र लिनुपर्ने, सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाको सिफारिस पत्रलगायत कागजात मिलाउनुपर्ने झन्झटका साथै भौगोलिक कठिनाइले हेलिकोप्टर समयमा पु¥याउन नसक्दा गर्भवती तथा सुत्केरीले अकालमा ज्यान गुमाउने गरेका छन्।




