


धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई धम्की दिएको भनिएका एक युवकले उपमहानगरपालिका कार्यालय परिसर मै विष सेवन गरेका छन् । धनगढी उपमहानगरपालिका–५ मट्यारीका गणेश रानाले आज मंगलबार बिहान करिब १० बजे कार्यालय परिसरभित्रै विष सेवन गरेको प्रत्यक्षदर्शीले बताए ।
उनको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ ।

उपमहानगर प्रहरी निरीक्षक भूपेन्द्र खड्का अनुसार युवक गणेश सेवाग्राहीहरूसँगै कार्यालय आइपुगेका थिए । नगर प्रहरी निरीक्षक खड्काले भने– उनी (गणेश) सेवाग्राहीहरूसँगै भित्र पसेका रहेछन् । एकछिनपछि खल्तीबाट केही निकालेर खाए छन् । नजिक रहेका केहीले उनले फालेको बिर्को हेरेपछि विष खाएको पाइयो । हामीले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल पु-र्यायौ ।
नगर प्रहरी निरीक्षक खड्काले गणेशले उपमहानगरपालिका कार्यालयमा आउने कुनै कुरा नगरेको बताए । उनले आफूहरू (नगर प्रहरी) ले उनलाई पक्राउ गरेर ल्याएको भन्ने समाचार गलत भएको दाबी गरे । भने–केही सञ्चार माध्यमले “बिहान नगरप्रहरीले गणेलाई पक्राउ गर्यो” भनेर समाचार दिए, तर हामीले उनलाई पक्राउ गरेका होइनौ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मेयर (गोपाल हमाल) ले हिजो सोमबार आफूलाई गणेशले ह्वाट्सएपबाट धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र प्रशासनले प्रहरीलाई आवश्यक कारबाहीका लागि सो उजुरी पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता (डिएसपी) कुलदीप चन्दका अनुसार–जिल्ल प्रशासनबाट हामीलाई सो उजुरी पठाइएको थियो । हामीले हिजो फोन गर्दा उनी (गणेश) ले आफू कामविशेषले कैलालीको बौनियातिर रहेको र भोली (आज मंगलबार) बिहान प्रहरी कार्यालय आउने जवाफ दिएका थिए ।




