


बैतडी -बैतडीको पञ्चेश्वरमा प्रहरी चौकीबाट गाउँमा असुरक्षा बढेको भन्दै स्थानीय र जनप्रतिनिधिले प्रहरी चौकी सार्नुपर्ने माग गरेका छन्। प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। स्थानियहरुले प्रहरीहरुबाटै गाउँमा सुरक्षा मिल्नुको साँटो असुरक्षा बढेकोले चौकि सार्नुपर्ने अवस्था सिर्जना भएको बताए।
पञ्चेश्वर गाउँपालिकाको महाँकाली चौकिका लागि उपयुक्त स्थानको खोजी गरि प्रहरीचौकि सार्ने बिषयमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष चन्दले बताए।
जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हिरासतमा छन्। करिब दुइ साता हुनलाग्दा समेत किसोरीको अवस्था अझै अज्ञात रहेको छ।

हवल्दार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।
प्रहरी हवल्दारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको उनले बताए। गत असोज २५ गते बिहान प्रहरी हवल्दारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले आरोप लगाउँदै आएका छन्।
बेपत्ता किशोरीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पञ्चेश्वरलगायतका स्थानमा खटिएको छ।
प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष पेस गरिसकेका छन्। प्रहरी हवल्दार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी भर्न जान्छु भनेर हिँडेको र उतैबाट बेपत्ता भएको जोशीले प्रहरीसमक्ष बयान दिएको खुलेको छ।




