


बैतडी : बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौँ कुमालीगाडबाट जंगली बँदेलका लागि थापेको पासोमा परेको चितुवा भागेको छ।
सोमबार राति पासोमा फसेको चितुवा मंगलबार राति पासो चुँडालेर भागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रशाद भट्टले जानकारी दिए ।

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार रातीपछि पासो चुँडालेर चितुवा भागेको उनले बताए ।
चितुवा फसेको क्षेत्र बरिपरि घाइते चितुवालाई खोजेपनि नभेटिएको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।
पासोमा परी घाइते भएको चितुवाको घाँटीको भागमा चोट छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।




