


बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सकिएको छ।गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरु भएको विवरण संकलनको काम साउन २० गते सकिएको हो। शिविरबाट ७ सय ४३ जनाले सेवा लिएको सुचना अधिकारी प्रयागराज पन्तले बताए ।
ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरिएको र सफलतापुर्बक सम्पन्न भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।

यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन जानुपर्ने बाध्यता थियो । उनले भने, “जिल्ला प्रशासन जान समस्या हुने ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरेका हौँ ।
बैंक खाता खोल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ । धेरै लाभग्राहीको राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आए पनि दोगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयोजना गरेको हो ।
गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् ।
दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकाले गाउँपालिकामा नै टोली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।




