


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले करीब दुई महिनापछि ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा सत्तारुढ दलभित्र विवाद भएको छ ।

आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो तर, सत्तारुढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।प्रदेश सभा सचिवालयले मंगलबार बिहान ९ बजे बस्नेगरि बैठक बोलाइएको जनाएको छ । विचौलियामार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारुढ दलकै सांसदले लगाएपछि विवाद बढेको छ ।एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको हो । सरकारमा रहेका मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट देखिएका छन्।
बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप लागेको छ । बजेटमा विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाएका छन् ।




