


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकाको १६औँ गाँउसभा(हिँउदे अधिवेशन) सम्पन्न भएको छ।गाँउपालिकाले पुष २५ गते शुक्रबार गाँउसभा सम्पन्न गरेको हो।गाउँसभाले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजनाहरुको कार्यान्वयनको अवस्थाका बिषयमा छलफल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले जानकारी दिए ।

गाउँसभामा योजना कार्यान्वयनका बिषयमा घनिभूत रुपमा छलफल भएको उनले बताए । चालु आर्थिक बर्षका योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि थप तदारुकताका साथ काम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए। सभामा गाउँपालिका अन्तरगत रहेका साखाहरुबाट सम्बन्धित साखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष पार्वती कार्की, वडा अध्यक्ष, गाउँसभाका सदस्य लगायतको सहभागिता रहेको थियो ।




