


बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । बुधबार राति करिब ८ बजे मेलौली नगरपालिका–१ स्थित सौडानी खोलाको जिरो पोइन्टमा जिप दुर्घटना भएको हो ।
डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको छ । उनको दुर्घटनामा गम्भीर घाइते भएपछि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा राति ८ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये चालक लुहार, २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार र १६ वर्षीय निरज बस्केलको अवस्था मध्यम रहेको छ ।
यस्तै, २४ वर्षीय करन सिंह मंगोला र २२ वर्षीय सुनिल बस्केलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




