


बैतडी:दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भने अन्य तीन जना अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले राजेन्द्र डडाललाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार घटनामा फरार रहेका अन्य तीन जनाकाे खाेजी भइरहेकाे छ । प्रहरीले यसअघि याे घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका डडाललाई भने जिल्ला सदरमुकाम क्षेत्रबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिस पाल भने अझै फरार छन् ।
उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा बियर बारमा दिपिकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गर्दै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
आशिक र उनका भाइले कुटपिट गर्दा घर्तीको मृत्युु भएको बयान पक्राउ परेकाहरूले दिएकाे प्रहरीकाे भनाइ छ । तर त्यसको सत्यता भने परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका मुख्य अभियुक्त पक्राउ परेपछि थप कुरा खुल्ने प्रहरीकाे भनाइ छ ।




