


बैतडी । धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए। डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।




