


चैत महिना सुरु भएसँगै बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ ।विशेषगरी बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रही आएको छ ।
भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो।यस अवसरमा दाजुभाइ तथा माइती पक्षका आफन्तले मीठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने गर्छन ।
भेटघाटसँगै एकदुई दिन ससुरालीमै बसेर परिवारबीच दुखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका दिनेश भट्टले बताए ।

पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्छन ।
समाजमा चैत महिनाभित्र दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास पनि रहेको भट्टले बताए।यही कारणले दाजुभाइ कहिले भेट्न आउलान् भन्ने प्रतीक्षामा दिदीबहिनीहरू बाटो कुर्ने चलन अझै जीवित छ ।
आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ ।भिटौलोले माइतीघरबाट पराइ घर गएकी दिदीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ ।
यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानका रूपमा लिइन्छ।पहिले भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली तथा घरेलु सामग्री लिएर जाने चलन थियो पछिल्लो समय भने बजारबाट किनेर लैजाने सामग्रीको प्रयोग बढ्दै गएको छ।
भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको स्थानीय व्यापारी प्रजापति भट्टले बताए।




