


बैतडी:बैतडीमा दोस्रो राष्ट्रिय आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका–४, गोठालापानीमा कार्यालय स्थापना गरी बुधबारदेखि काम अघि बढाइएको हो।

जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुनेछ ।
कार्यालय स्थापना भएसँगै गणनाको पूर्वतयारी सुरु गरिएको छ। कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनामा खटिने जनशक्तिलाई प्रशिक्षण दिइने र वैशाख २ देखि असार ७ गतेसम्म कार्यक्षेत्रमा परिचालन गरिने गणना अधिकारी गिरीले जानकारी दिए। बैतडीमा यसका लागि १६ जना गणक र ३ जना सुपरिवेक्षक खटिनेछन्।
गणनामा आर्थिक विवरण, उद्योगबाट हुने उत्पादन, देशमा उद्योगको अवस्था तथा रोजगारी सिर्जनासम्बन्धी तथ्यांक संकलन गरिनेछ। साथै उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण समेत संकलन गरिने कार्यालयले जनाएको छ।




