


बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–१ मा चिकेन पोक्सको संक्रमण फेरि फैलिन थालेको छ। नागार्जुन आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख जिबन सिंह साउदका अनुसार करिब एक हप्ता अघि फैलिएको संक्रमण बीचमा केही कम भए पनि पछिल्ला दिनहरूमा पुनः बालबालिका तथा वयस्कहरूमा देखिन थालेपछि त्रास बढेको छ।

संक्रमित व्यक्तिहरूमा शरीरभरि रातो दाना तथा पानी भरिएका फोका देखिने, ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, कमजोरी महसुस हुने, भोक कम लाग्ने तथा अत्यधिक चिलाउने जस्ता लक्षण देखिएका छन्। बालबालिकामा चिडचिडापन समेत देखिएको साउदले बताए।
उहाँका अनुसार चिकेन पोक्स एक सरुवा भाइरल संक्रमण भएकाले संक्रमित व्यक्तिको सम्पर्कबाट सजिलै फैलिन सक्छ। यसको छुट्टै विशेष औषधि नभए पनि लक्षणअनुसार उपचार तथा घरमै उचित हेरचाह गर्न सकिने बताए।




