



बैतडी,
बैतडीका ३ स्थानीय तहमा खोरेत रोग फैलिएको छ । एक महिना पहिले पाटन नगरपालिका ५ मा फेला परेको खोरेत रोग अहिले मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि खोरेत रोग देखिएको छ ।
मेलौली नगरपालिका २, पञ्चेश्वर गाउँपालिका ५ र पाटन नगरपालिका ५ मा खोरेत रोग फैलिएको पशु सेवा बिज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । खोरेत रोग फैलिएको ठाउँहरुमा रोग बिरुद्धको भ्याक्सिन पठाएर पशुहरुमा लगाउन सुरु गरिएको पनि उनले बताए । मेलौली र पञ्चेश्वरमा ५ सय भन्दा बढी पशुहरुलाई खोरेत बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।
एक महिना पहिले पाटन नगरपालिका ५ का पशुहरुमा खोरेत रोग फेला परेको थियो । पाटन ६ मा मात्रै २ दर्जन पशुचौपाया मरेको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले जानकारी दिए । उक्त वडामा अझैपनि रोग नियन्त्रणमा नआएको वडा अध्यक्ष फुनि सिंह बोहराले बताए ।
आहारा नखाने, र्याल चुहाईरहने, खुटटका खूरहरु फाट्ने, १०४ डिग्री भन्दा बढी ज्वरो आउने लगायतका लक्षणहरु देखिने गरेको पशु प्राबिधिकहरुले जनाएका छन् ।
खोरेत रोगका कारण पशुहरुमा महामारी नै फैलने भएकाले समयमै ध्यान दिनुपर्ने पशु चिकित्सकहरुले सुझाएका छन् । रोग लागीसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरु सफा राख्ने, सरसफाईमा बिशेष ध्यान दिन किसानहरुलाई सुझाव दिएका हुन् ।




