Vutlaxapu
Laxmibhuwan sun chadi

दुई सय वर्ष पुरानो बैतडीको शर्मालीगढी किल्ला संरक्षण नहुँदा जीर्ण बन्याे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः दुई सय वर्ष पुरानो ऐतिहासिक बैतडीको शर्मालीगढी किल्ला संरक्षण नहुँदा यसको स्वरूप बिग्रँदै गएको छ । किल्लाको पुनर्निर्माण गर्न चार करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बने पनि बजेट नहुँदा योजनाको फाइल दराजमा थन्किएको हो। शिवनाथ गाउँपालिका–२, शर्मालीगढीमा रहेको किल्ला नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो । किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल, तरबार र पुराना तोप हराएका छन् । किल्लाभित्रको हतियार राख्ने कोत, घेरा पर्खाल जीर्ण बनेर भत्किसकेको छ । किल्लावरिपरि रहेको पानीको तलाउको निसानी मात्रै बाँकी रहेको छ ।

नेपाल–अङ्ग्रेजसँगको लडाइँमा अमरसिंह थापा लडाइँको मोर्चा समाल्ने कमान्डर थिए। उनकै नामबाट यो किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी किल्ला हुँदै तत्कालीन सेना नालापानी गएको स्थानीयको भनाइ छ ।

जय भगवति मेलौली सुनचाँदी

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्वका हिसाबले डडेलधुराको अमरगढी किल्ला र बैतडीको शर्मालीमा रहेको शर्मालीगढी किल्ला निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार करोड रुपियाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर तीन वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको बताए। गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसक्ने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन बुझाए पनि बजेट प्राप्त नभएपछि फाइल दराजमा थन्किएको उनले गुनासो गरे। समुद्री सतहबाट १ हजार ४ सय ७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

नेपाल एकीकरण मार्ग अन्तर्गत नेपाली सेनाको अगुवाइमा २ सय ६३ मिटर लामो पदमार्ग निर्माण गर्ने प्रयास गरेको भए पनि किल्लाको पुनर्निर्माणका लागि पर्याप्त बजेट नआएको गाउँपालिका अध्यक्ष साउदले दुःखेसो पोखे।

जीर्ण अवस्थामा रहेको शर्मालीगढी किल्लाका ढुङ्गा अहिले छरपस्ट अवस्थामा छन् । किल्लाभित्र रहेको कोतखाना भत्केपछि त्यहाँ अहिले गोठालो जाने बालबालिकाको खेल्ने ठाउँ बनेको छ । किल्लामा बाँकी रहेका केही ढाल र तरबार डडेलधुराको अमरगढी किल्लामा सारिए पनि केही तरबार अझै पनि गाउँमा हुन सक्ने स्थानीय बताउँछन् ।

चारैतिर रानीसल्लाको घना जङ्गलले घेरिएको यो किल्लामा पर्ने जङ्गलक्षेत्र अहिले अमरगढी सामुदायिक वन नामकरण गरिएको छ । ४ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page