


बैतडी : बैतडीमा १० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार तथा बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका २३ वर्षीय राकेश साउद रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाका बुवाले दिएको जाहेरीका आधारमा साउदलाई बिहीबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बालिकामाथि बुधबार यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको आरोपमा जाहेरी परेको थियो। मुद्धा दर्ता गरेर म्याद थप गर्ने तयारी भइरहेको उनले बताए । बालिका कक्षा-४मा अध्ययनरत हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस्तै, बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको अधिकार तथा संरक्षणसम्बन्धी विशेष व्यवस्था गरेको छ।
१० वर्षीया बालिका कानुनले संरक्षण गरेको बालबालिकाको समूहमा पर्ने भएकाले घटनाको प्रकृति र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जबर्जस्ती करणीको प्रयास, बालयौन दुरुपयोग वा यौन दुर्व्यवहारसम्बन्धी कसूर आकर्षित हुन सक्ने देखिन्छ। मुलुकी अपराध संहिताको दफा २२४ ले यौन दुर्व्यवहार र दफा २२५ ले बालयौन दुरुपयोगलाई कसूरका रूपमा परिभाषित गरेको छ।




