



बैतडी -बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा कोल्ड स्टोर सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको हो । तरकारीको बजार मुल्य नपाएर सस्तो मुल्यमा बिक्री गर्न बाध्य किसानहरुका लागि राहात हुने पाटन नगरपालिका ८ स्थानिय गणेश बहादुर ऐर बताए ।
व्यवसायिक रुपमा आलुखेती गरीरहेका कृषकहरुले बजारको अभावमा आलु बारीमा कुहिने समस्याको अन्त्य हुने ऐरको भनाई छ । कोल्ड स्टोर नहुँदा आलुको बिउ भण्डारण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको अर्का स्थानिय मोहन बिष्टले बताए । नजिकै कोल्ड स्टोर सञ्चालनमा आएकाले किसानहरुलाई केही सहज हुने बिष्टले बताए
कृषि ज्ञान केन्द्रको १५ लाखको अनुदान गरी झन्डै ४५ लाखको १० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई भण्डारण गरेर राख्न सहज हुने उनले बताए ।
पाटन नगरपालिकाका वडा नम्बर ८ , ९ र १० तरकारी उत्पादनका पकेट क्षेत्र हुन् । आलु , काउली ,बन्दा ,टमाटर लगायतका तरकारी बढी मात्रामा उत्पादन हुने गर्दछ । बिशेष गरेर आलुका लागि पकेट क्षेत्र मानिएको यस क्षेत्रका किसानहरुले सहुल्यत मुल्यमा आलु भण्डारण गर्न सक्ने प्रमुख भट्टले बताए ।
कोल्ड स्टोरको अभावमा यहाँका व्यवसायिक आलु खेती गरीरहेका किसानहरु बिउको अभाव झेल्दै आइरहेका बताउदै स्थानिय ऐरले उत्पादनको समयमा पनि बजार मुल्य कम पाउने गरेकामा केही सहज हुने जानकारी दिए ।




