


काठमाडौ ।मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ सार्वजनिक गर्दै कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने उल्लेख गरेको छ । यस अवधिमा वर्षाको जोखिम बढ्न सक्ने भन्दै पाकेको धानबाली जोगाउन र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले पनि आग्रह गरेका छन् ।
विभागले शुक्रबार जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहान ५:४५ बजे पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।’
नेपालमा हुन सक्ने वर्षाको मात्र र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिए पनि कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।
भारतको मौसम विभागले शनिबार बुलेटिन जारी गर्दै बंगालको खाडीको मध्यपूर्वी तथा दक्षिणपूर्वी आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएको जनाएको छ । शुक्रबार बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली न्यून चापीय क्षेत्रमा परिणत भएको छ । यो प्रणाली आइतबार गहिरो अवदाब (डिप डिप्रेसन) र सोमबार बिहानसम्म बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै यो प्रणाली थप शक्तिशाली हुने र बुधबार बिहानसम्ममा आन्ध्र प्रदेशको तट नजिकै बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा पुग्ने सम्भावना छ ।
मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा मौसमी विश्लेषण सार्वजनिक गर्दै कात्तिक १२–१५ गतेसम्म सम्भावना र जोखिम रहने उल्लेख गरेका छन् । अहिलेको पूर्वानुमानमा यस अवधिमा नेपालका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा भारी वर्षाले जोखिम बढाउन सक्ने उनको भनाइ छ । ‘शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी देखिन्छ,’ उनले भनेका छन्, ‘काठमाडौंलगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ । मनाङमा पनि यसपटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ ।’
बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुन सक्ने र त्यसले भारी वर्षाको सम्भावना बढाउने पोखरेलले उल्लेख गरेका छन् ।
खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले स्थानीय मौसम हेरेर बाली सुरक्षित गर्ने योजना बनाउन पनि उनले आग्रह गरेका छन् ।
जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि ११ देखि १५ गतेसम्म देशैभर वर्षा हुने अनुमान गरेका छन् । बाली काट्न र भित्र्याउन आग्रह गर्दै उनले उच्च हिमाली क्षेत्रको पदयात्रालाई उक्त अवधिमा विराम लगाउन सुझाव दिएका छन् । ‘यो वर्षा प्रणालीको प्रभाव झन्डै एक हप्तासम्म रहन सक्ने देखिन्छ । यसको अर्थ लगातार पानी परिरहने भन्ने होइन । बीचबीचमा वर्षा रोकिने भए पनि मौसम पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी परिरहने सम्भावना छ,’ उनले भनेका छन्, ‘यो प्रणाली अझै विकसित हुँदै गएकाले वर्षाको मात्रा बढ्न सक्ने र केही स्थानमा असिनासमेत पर्न सक्ने सम्भावना छ ।’
नेपालबाट यस वर्षको मनसुन अक्टोबर १४ (असोज २८) मा पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि दसैंका बेला धेरै ठाउँमा मौसम खुलेको थियो । बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीकै कारण गत असोज ७ देखि ४ दिनसम्म देशका अधिकांश भूभागमा अति भारी वर्षासम्म भएको थियो ।




