


कैलाली । सुदूरपश्चिम प्रदेशमा सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन भएका छन् । हिजो साँझ आज बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाएका सभाध्यक्ष भट्ट सर्वदलीय बैठकपछि सम्पर्कविहीन भएका हुन् । उनी मोबाइल बन्द गरेर सम्पर्कविहीन भएपछि अहिले प्रदेश सभा सचिवालयका कर्मचारीहरू तनावमा परेका छन् ।आज सभामुख निर्वाचन हुनुपर्ने हो । तर, सभाध्यक्ष नै सम्पर्कमा नआएपछि सभामुख निर्वाचन प्रक्रिया नै अन्यौलता परेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठकमा दलहरू बिच सहमति नभएपछि सभाध्यक्ष भट्टकै निर्देशनमा अनिश्चित समय सम्म बैठक स्थगित गरेका थिए । तर, त्यसपछि उनी सम्पर्कमा छैनन् ।

अहिले कांग्रेस अल्पमतमा रहेपछि भट्ट सम्पर्क विहीन भएको सत्ता गठबन्धनका नेताहरूले आरोप लगाएका छन् ।
हिजो कांग्रेसबाट उम्मेदवार भएका रावल र माओवादी बाट उम्मेदवार भएका भीम भण्डारी दुवैको बहुमत नभएपछि आज पुन निर्वाचन तोकिएको थियो ।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ । आज सभाध्यक्ष सम्पर्कविहीन भएपछि संवैधानिक व्यवस्थामै प्रश्न उठ्ने खतरा बढेको छ ।




