


बैतडी सुदूरपश्चिम प्रदेशका नौमध्ये पाँच जिल्लामा पछिल्लो १० वर्षको अवधिमा जनसंख्या घटेको छ। १० वर्षको अवधिमा प्रदेशका पाँच जिल्लामा वार्षिक एक दशमलव १३ प्रतिशतदेखि शून्य दशमलव १७ प्रतिशतले जनसंख्या घटेको हो।पहाडी पाँच जिल्लाको जनसंख्या घटे पनि बाजुरा र दार्चुलाको जनसंख्या भने बढेको छ।

बाजुरामा शून्य दशमलव २५ प्रतिशत र दार्चुलामा २६ प्रतिशतले जनसंख्या बढेको छ। २०६८ को तुलनामा २०७८ को जनगणनामा कैलाली र कञ्चनपुरमा क्रमशः १ दशमलव ४८ र १ दशमलव २५ ले जनसंख्या बढेको छ। राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ, डोटी, बैतडी र डडेल्धुरामा जनसंख्या वृद्धिदरमा ह्रास आएको छ।जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव १३ प्रतिशत छ।
अछाममा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा २०७८ सम्म आइपुग्दा २८ हजार ६ सय २५ ले कमी आएर दुई लाख २८ हजार ८ सय ५२ मा झरेको छ। त्यस्तै, बझाङमा जनसंख्याको वार्षिक वृद्धिदर शून्य दशमलव ३ ले ऋणात्मक छ भने डोटीमा शून्य दशमलव ३२, बैतडीमा शून्य दशमलव ३४ र डडेल्धुरामा शून्य दशमलव १७ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक छ।




