


बैतडी -सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक हप्ताभित्र दाेस्राे पटक मन्त्रिमण्डल विस्तार गरेका छन्।उनले नागरिक उन्मुक्तिबाट थप एक जना मन्त्रीलाई नियुक्त गरेका हुन्।
अल्पमतमा परेकाे सरकारलाई बहुमत पुर्याउन नागरिक उन्मुक्ति पार्टीका कैलालीबाट निर्वाचित पाँच जनालाई नै उनले मन्त्री बनाएका छन्।मुख्यमन्त्री शाह र भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउवा कैलालीबाट निर्वाचित हुन्।
नागरिक उन्मुक्तिबाट रामेश्वर चाैधरी केन्द्रमा सत्ता समीकरण फेरिनु अगावै प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थिए। साेही मन्त्रालयमा राज्यमन्त्री रहेका कैलाश चाैधरीलाई केन्द्र सरकारमा समीकरण फेरिएलगत्तै बर्खास्त गरी उनको ठाउँमा फागुन २५ गते नागरिक उन्मुक्तिकै इन्दिरा गिरीलाई नियुक्त गरिएको थियो।

यसै दिन नागरिक उन्मुक्तिका घनश्याम चाैधरीलाई आर्थिक मामिला र खुशीराम चाैधरीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए।साेमबार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चाैधरीलाई मन्त्री नियुक्त गरेका छन्। उन्मुक्तिका सबै सांसद कैलालीकै हुन्।
यस्तै, स्वतन्त्र सांसद ताराप्रसाद जाेशी र राप्रपाकी एक्ली सांसद खेमादेवी विष्टलाई पनि मन्त्री नियुक्त गरेर सरकारमा ल्याउन प्रयास भइरहेको कांग्रेस नेताहरू बताउँछन्।
मुख्मन्त्री शाहलाई सरकार बनाउन आवश्यक २७ सांसदमध्ये २ जना अपुग छ। उनको पार्टी नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ गरी २५ जनाकाे समर्थन उनले यही अवस्था रहे पाउने छन्। राप्रपा १ र स्वतन्त्र १ सांसद सरकारमा गए बहुमत हुनेछ।
अर्कोतिर केन्द्रमा सत्तामा रहेका माओवादीका सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ गरी २४ सांसद छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन कम्तीमा २७ सांसदहरूले समर्थन गर्नुपर्ने हुन्छ। कांग्रेसका एक जना सांसादकाे मृत्यु भएकोले अहिले प्रदेश सभामा ५२ सदस्य छन्।




