


सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्।
पहिरो र ३७ र बाढी १० गरेर ४७ घटना घटेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ। पहिरोमा परेर ५ महिला र एक पुरुषको मृत्यु भइसकेको छ। ८ महिला र ८ पुरुष गरी १६ जना घाइते भएका छन्। पहिरोबाट एक सय २ परिवार प्रभावित बन्न पुगेका छन्।पहिरोका कारण ६ घर आंशिक र ५ घर पूर्ण क्षति भएको सो विवरणमा उल्लेख छ। पहिरोकै कारण ३ कोठ भत्किएर ३१ पशुचौपायामा क्षति पुगेको छ। यसबाट २ लाख २५ मुल्यको भौतिक क्षति पुगेको समेत पाइएको छ। त्यस्तै बाढीबाट एक महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छन्। बाढीबाट चार सय ९ परिवार प्रभावित बन्न पुगेका छन्।

विहिबार रातिदेखि शुक्रबार दिउँसोसम्म परेको वर्षापछि महाकालीसँगै अन्य नदीनालामा आएको बाढीका कारण आधा दर्जन बस्तीका एक सय बढी परिवार विस्थापित बन्न पुगेका थिए। कञ्चनपुरको दोधारा–चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा नदीनालाको बाढी बस्तीमा पसेका कारण स्थानीय विस्थापित बन्न पुगेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार विस्थापित भएका थिए।
यसैगरी महाकालीको बाढीले भुजेला खोलाको पानी रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका थिए। महाकालीकै बाढीले जोगबुडा नदीको बहाव रोकेपछि दोधारा–चाँदनी नगरपालिका–१० का कुतियाकभर, शान्ति टोल, निशानी टोल, बैदी फाँटा, वडा ८ का सुन्दरनगर र वडा ३ को पटेरा खल्लाका गरी करिब ६० परिवार विस्थापित भएका थिए।
उता कैलालीमा बाढीको जोखिममा परेका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिममा परेका एक सय ६२ घरका ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
जिल्लाको पथरिया, कटैनी, काँडालगायतका नदीमा गएको बाढीका कारण जानकी गाउँपालिका–४ सुकम्वासी टोल, कैलारी गाउँपालिका–७ वसन्ता, जोशीपुर गाउँपालिका–३ भितरीया, कैलारी–५ मनिकपुर, भजनी नगरपालिका–८ र ३ अन्तर्गतका स्थान डुबानमा परेको उनले बताए। सूचना अधिकारी जोशीकानुसार ३४ जनालाई जानकी गाउँपालिका–४, ९४ जनालाई जानकी गाउँपालिका–७ फरेला, चार सय जनालाई टीकापुर नगरपालिका–८ वनगाउँस्थित सुरक्षित स्थानमा सारिएको छ।
यस्तै, ११ जनालाई जोशीपुर गाउँपालिका–३ भितरियास्थित जनहित सामुदायिक वनको भवन, ७७ जनालाई भजनी नगरपालिका–९ कुणी खुरखरिया स्थित गुप्तेश्वर आधारभुत विद्यालयमा सारिएको उनले बताए। ८ जनालाई कैलारी गाउँपालिका–५ स्थित सुरक्षित घरमा, चार जनालाई गोदावरी नगरपालिका–११ स्थित लालमणी पनेरु, ८ जनालाई सोही स्थानका राधिका ढोली र मधुरा दमाईको घरमा सारिएको छ। जिल्लामा ६ सय परिवारका दुई हजार सात ८२ व्यक्ति बाढीबाट प्रभावित भएका छन्।




