


नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनका लागि ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्य कायम गरेका छन्।
नवीकरणबाट ५ लाख ७३ हजार २ सय ६९ र नयाँ सदस्यताबाट २ लाख १० हजार ५ सय ६८ क्रियाशील सदस्य आएको हो।

देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५ औं महाधिवेशन तयारी समिति बनाएर अधिवेशन सुरू गर्न लागेका छन्। असोज १५ गते वडा अधिवेशनको तयारी छ।
सदस्यता व्यवस्थापन समिति संयोजक किरणराज शर्मा पौडेलले क्रियाशील सदस्यता विवरण निर्वाचन समिति संयोजक एगराज पोख्रेललाई बुझाइसकेका छन्। पोख्रेलले शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा आफूले क्रियाशील सदस्यताको सूची प्राप्त गरिसकेको र असोज १५ गते वडा अधिवेशन हुने बताए।देउवा पक्षसँग अद्यावधिक क्रियाशील सूची भने छैन, त्यसैले गत वर्ष पुसभित्र नवीकरण र नयाँ वितरण गरिएका सदस्यहरूलाई क्रियाशील सदस्य कायम गरेको देखिन्छ। तर देउवा पक्षले पनि अनलाइनबाट सदस्यता आवेदन दिन मिल्ने बनाइएको जनाएको छ। त्यसका लागि वेबसाइटसमेत बनाइसकिएको छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेससँग भने अद्यावधिकसहित गरी ८ लाख ७० हजार बढी क्रियाशील सदस्य छन्। थापा नेतृत्वको कांग्रेसमा वडा, पालिका अधिवेशन गरी क्षेत्रीय अधिवेशन भइरहेको छ।




