


धनगढीः सुदूरपश्चिममा शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति नै जारी गरेर यस्तो अपिल गरेको हो। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहने प्रदेशवासीलाई आग्रह गरेको छ।वस्ती नजिक बाढी, पहिरो, डुबान, जोखिमको आंकलन गरी सुरक्षाकर्मी तथा स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा घरपरिवार सरसामान सार्ने व्यवस्था गरिनुपर्ने, बाढीका बारेका जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न लगायतका जानकारी गराउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति नै जारी गरेर सबैमा सचेत रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि १२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने सम्भावना रहेको बताएपछि धनगढीमा नगर प्रहरीले सो विषयको माइकिङ गरेर नगरवासीलाई जानकारी गराइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको बुलेटिन प्रकाशित गरेको छ। नगर प्रहरीले किसानहरूलाई काटेको धानबाली भित्र्याउन र खेतमा नकाट्न माइकिङबाट जानकारी गरिरहेको छ।




