


बैतडी:डडेल्धुरा अस्पतालले बिहीबारदेखि आकस्मिक बाहेकका सेवा नदिने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई मोसो दलेको विरोधमा बन्द गर्न लागेको समितिले जनाएको छ । नेकपा बहुमतका कार्यकर्ताले बुधबार दिउँसो अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेका थिए ।

समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरी २४ पुसदेखि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द हुने बेहोरा जानकारी सहित यो प्रेस विज्ञप्ती जारी गरिन्छ ।’
आवश्यक सेवा सञ्चालन ऐनले अस्पताल लगायतका क्षेत्रमा बन्द, हड्ताल गर्न निषेध गरेको छ । अध्यक्ष ओझाका अनुसार चार जना युवाहरू अस्पतालले दिने सेवा सुविधाबारे जानकारी लिन भन्दै कार्यकक्षमा आएर दुर्व्यवहार गरेका थिए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्ने चारै जनाको पहिचान भइसकेको जानकारी दिए।





