


भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा भर्चुअल सम्बोधन गर्ने भएपछि बंगलादेशले आपत्ति जनाएको छ।
नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले अगस्ट ५ मा आयोजना गर्न लागेको एक कार्यक्रममा हसिनाले भर्चुअल सम्बोधन गर्ने भएपछि द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी दिँदै बंगलादेशले भारतलाई आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ।
हसिना सरकार ढलेको विद्यार्थी आन्दोलनको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजना गरिने सो कार्यक्रमबारे आधिकारिक प्रतिक्रिया दिँदै भगोडा व्यक्तिलाई राजनीतिक गतिविधि गर्न अनुमति दिँदा सुध्रिँदै गएको सम्बन्ध बिग्रने सक्ने बंगलादेशले जनाएको छ।
हसिनाले सन् २०२४ अगस्टमा बंगलादेशबाट भागेर शरण लिएयता बंगलादेशले भारतसँग उनको सुपूर्दगीको माग लगातार गरिरहेको छ।
‘हामी भारतसँग दूरदर्शी दृष्टिकोणका साथ अघि बढिरहेका छौँ। हामी त्यो प्रगतिमा असर परेको चाहँदैनौँ। भारतले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,’ बंगलादेशकी परराष्ट्र राज्यमन्त्री शामा ओबेद इस्लामले सो विषयबारे पत्रकारहरूसँग भनिन्।
दिल्लीमा हुने कार्यक्रमलाई ७८ वर्षीया हसिनाले आफ्ना छोरा सजीव वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडिओ लिङ्कमार्फत सम्बोधन गर्ने कार्यक्रम छ।

‘भगोडा अभियुक्तहरूका भनाइले भारत-बंगलादेश सम्बन्धमा आँच आओस् भन्ने हामी चाहँदैनौँ,’ उनले भनिन्।
उक्त कार्यक्रम भारत सरकारद्वारा आयोजना नगरिएको भए पनि आवश्यक परे बंगलादेशले कूटनीतिक माध्यमबाट यो मुद्दा उठाउने इस्लामले बताइन्।
भारतीय परराष्ट्र मन्त्रालयले यस विषयमा तुरून्तै कुनै प्रतिक्रिया दिएको छैन।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर आत्मसमर्पण गर्ने बताइसकेकी छन्।
समाचार संस्था रोयटर्ससँग तीन हप्ताअघि कुरा गर्दै हसिनाले आफू र आफ्नो पार्टी अवामी लिगका वरिष्ठ सहकर्मीहरू आगामी डिसेम्बरको आसपास निर्वासनबाट फर्किएर आत्मसमर्पण गर्ने योजनामा रहेको जनाएकी थिइन्।
‘मेरो फिर्तीमा उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, उनीहरूले मलाई मार्न पनि सक्छन्,’ रोयटर्ससँगको टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनेकी थिइन्, ‘तै पनि, मैले जानैपर्छ। मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि ठूलो दमन भइरहेको छ। यदि मृत्यु आउँछ भने, म यो आफ्नै माटोमा आओस् भन्ने चाहन्छु, जहाँ मेरा आमाबुबा गाडिएका छन् र जहाँ उनीहरूको रगत बगेको थियो।’
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन्।
सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइएको थियो। सो मुद्दामा गत नोभेम्बरमा फैसला गर्दै त्यहाँको विशेष न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएको थियो।
मुद्दा नचलाइकन र फैसला आएपछि पनि बंगलादेश हसिनालाई फिर्ता पठाउन पटक-पटक भारतलाई आग्रह गरे पनि भारतले मानेको थिएन। अब भने हसिना आफै स्वदेश फर्किने बताएकी हुन्।




