


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ गतेसम्मका लागि स्थगित भएको छ। यससँगै प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी पनि थप पछाडि धकेलिएको छ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बिहीबार बिहान ८ बजे बस्ने गरी तयारी गरिएको बैठक अब २४ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको हो।
उनले भने, ‘आज बिहान ८ बजे बस्ने गरी हामीले तयारी गरेका थियौँ। अब २४ गतेसम्मका लागि स्थगित भएको छ।’
प्रदेश सभा सचिवालयले २४ गते बिहान ८ बजे बैठक बस्ने गरी सूचना जारी गरेको छ।

बुधबार साँझ ५ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अन्तिम समयमा स्थगित गरी बिहीबार बिहान ८ बजेका लागि सारिएको थियो। तर, बिहीबार बिहानका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो।
करिब तीन महिनादेखि बजेटविहीन रहेको सुदूरपश्चिम सरकारले अघिल्लो सरकारले पेस गरेको बजेट पुनर्लेखन गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको थियो। तर, बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि सरकार बजेट प्रस्तुत गर्ने विषयमा पछि हटेको थियो।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ।
सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेस गर्ने कि नगर्ने भन्ने विषयमा सरकार थप अन्योलमा परेको छ। मुख्यमन्त्री खगराज भट्ट कानुनी परामर्शमा छन्।
बुधबार रातिसम्म पनि सरकारले बजेट कसरी ल्याउने भन्ने विषयमा गम्भीर छलफल गरेको थियो। मुख्यमन्त्री निवासमा मुख्यमन्त्री भट्टले मन्त्रीहरूसँग बजेट प्रस्तुत गर्ने विषयमा परामर्श गरेका थिए। तर, छलफलबाट ठोस निष्कर्ष आउन सकेन।
यसैबीच, सरकारले बजेट प्रस्तुत गर्न आह्वान गरेको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने जनाएको छ।
निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता कमलबहादुर शाहले बजेटकै विषयमा सर्वोच्च अदालतको अन्तरिम आदेश नआउँदासम्म बैठक बहिस्कार गर्ने बताएका थिए ।




