


बैतडी, बैतडीको डिलासैनी गाउँपालिका–३ मौनीमा रहेको भुमेश्वर आधारभुत विद्यालयमा शिक्षकहरुको लापरवाही बढेको पाइएको छ । दुई जना पालिका शिक्षक, एक बाल विकास शिक्षक र एक जना कार्यालय सहयोगी रहेको विद्यालयमा बिना जानकारी शिक्षक अनुपस्थित रहने गरेको पाइएको छ । आइबारमात्रै विद्यार्थीहरु विद्यालयमा उपस्थित रहेको भएपनि सबै शिक्षकहरु अनुपस्थित रहेको पाइएको छ । विद्यालयमा शिक्षकहरु कोही नआएपछि विद्यार्थीहरु घर फर्किएका थिए ।

बालविकास शिक्षक पुस्पा कुमारी बिष्ट धामीलाई जानकारी गराएर आफु विद्यालयको कामले गोकुलेश्वर गएको प्रधानाध्यापक बीरु बहादुर धामीले बताए । ‘बाल विका शिक्षक बिष्टलाई जानकारी गराएको हु, विव्यस अध्यक्षबाट अनुमती लिएर म विद्यालयको कामले गोकुलेश्वर थिए, नयाँ नियुक्त भएका शिक्षकलाई जानकारी गराउन सकिन, उनि पनि खनुपस्थित रैछन्,’ प्रधानाध्यापक धामीले भने ।
हालै नियुक्त भएका पालिका शिक्षक लोकेन्द्र बहादुर धामीलाई जानकारी हुन नसकेको प्रधानाध्यापक धामीले बताए । तर शिक्षक लोकेन्द्र बहादुर धामी पनि अनुपस्थित रहेको पाइयो । कार्यालय सहयोगी भुरे धामीमात्रै विद्यालयमा रहेको बताइएको छ । शिक्षकहरु विद्यालय उपस्थित नभएपछि विद्यार्थीहरु घर फर्किएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सिंह धामीले उक्त दिन विद्यालयमा उपस्थित नभएका सबै शिक्षकहरुको हाजिर काटिएको बताए ।




