


बैतडीको डिलासैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी विवाद चर्किएको छ । गाउँपालिका उपाध्यक्ष भगिरथ बोहराले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको कार्यकारी नखटाई बिगतमा रहेका कार्यकारीलाई नै नियमितता दिनभन्दै आग्रह सहितको पत्र पठाएपछि विवाद सिर्जना भएको हो । यो पत्र सार्बजनिक भएपनि सामाजिक सञ्चालमा सबत्र आलोचना भइरहेको छ ।
मन्त्रालयले रंजय पटेललाई नयाँ कार्यकारीको रुपमा खटाएको छ । तर उपाध्यक्ष भगिरथ बोहराले यसअघि काममा खटिएका कार्यकारी गणेश सिंह बोहरालाई नै कार्यकारीको रुपमा अधिकार प्रदान गर्न आग्रह गर्दै मन्त्रालयमा पत्र पठाएको पाइएको छ । जिल्ला बाहिरका कार्यकारीले प्रभावकारी सेवा नदिने र अनावश्यक विदामा बस्ने भएकाले नयाँ कार्यकारीलाई नखटाइदिन भन्दै आग्रह गरेका छन् । यसपछि गाउँपालिकामा विवाद चर्किएको हो ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष बोहरालाई बुझ्न खोज्दा फोन रिसिभ हुन सकेन ।
गाउँपालिकाका प्रबक्ता यज्ञ राज भट्टले नयाँ कार्यकारी पटेलले जिम्मेवारी समाल्ने र गाउँपालिका उपाध्यक्षले पठाएको पत्र गलत भएकोले सम्बन्धित विषयमा कार्यपालिकाको बैठकमा वृहत छलफल हुने बताएका छन् ।





