


बैतडी -बैतडीका स्थानीय तहमा हालै खटाईएका नयाँ हाकिमहरु धमाधम सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते यहाँका पाँच स्थानीय तहमा एकै पटक नयाँ कार्यकारी खटाएको थियो । तर स्थानीय तहमा हाजिर हुन नपाउदै धमाधम सरुवा भइरहेका छन् ।
सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज १ गते हाजिर भएका कृष्ण प्रशाद घिमिरे सरुवा भएका छन् । उनलाई मन्त्रालयले नुवाकाटको लिखु गाउँपालिका सरुवा गरिदिएको छ ।
यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा पनि हालै हाजिर भएका सुशिल कुमार साह सरुवा भएका छन् । उनलाई कहाँ खटाइएको छ भन्ने खुलाइएको छैन । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले सरुवा भएको अनौपाचारिक जानकारी आएको बताए । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत साहले अनविज्ञता प्रकट गरे ।

पञ्चेश्वर गाउँपालिकामा आउने भनिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उज्जल आनन्द गाउँपालिकामा हाजिर हुन नपाउदै सरुवा भएका छन् ।
गाउँपालिकामा हाजिर हुन आउने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत आनन्द यहाँ पुग्न नपाउदै सरुवा हुनु भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए । ‘उहाँ आउने भन्ने थियो, यहाँ हाजिर हुन नपाउदै सरुवा भइसके,’ उनले भने ।
डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जय पटेल पनि हाजिर भएको ८ दिनमै सरुवा भएका छन् । उनि यही असोज ८ गते पालिकामा हाजिर भएका थिए । उनि पनि मंगलबार सरुवा भएर गएका छन् ।
यसरी हाजिर हुन नपाउदै सरुवा भएपछि कार्यसम्पादनमा समस्या सिर्जना भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।




