


बैतडी -इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत रहेका ४९ विद्यार्थी पढाइसँगै कमाई कार्यक्रम अन्तरगत इजरायलमा पुगेका थिए।

इजरायलमा रहेका उनीहरू मध्ये हमासको आक्रमणमा परेर १० जनाको निधन भएको थियो। गत असोज २० गते शनिबार हमास समूहको आक्रमणमा निधन भएका १० मध्ये चार विद्यार्थीको शव (आइतबार) साँझ धनगढी पुर्याइएको हो।
फ्लाई दुबईको विमानमार्फत् बिहान काठमाडौं ल्याइएको विद्यार्थीहरूको शव बेलुकी धनगढी पुगेको हो।
धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो। चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।




