


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकार र सडक दुवै कब्जा गर्न खोजेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय सरकारको नेतृत्व गरिरहेका छन् ।विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले २२ मंसिरमा काठमाडौंमा सडक प्रदर्शनसमेत हुने बताए । दाहालको अभिव्यक्तिदेखि सापकोटाको प्रतिक्रियासम्म जोडेर हेर्दा जनप्रदर्शनका नाममा सडकमा सत्ता अराजकता देखाउन खोजिएको देखिन्छ । सरकारको नेतृत्व गरेको दलले प्रभावकारी काम गरेर व्यवस्थाको औचित्य पुष्टि गर्नेतर्फ ध्यान दिनुको सट्टा सडकमा मान्छे उतारेर व्यवस्थाको रक्षा गर्ने कमजोर तर्क अघि सारेको भन्दै आलोचना भइरहेको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको अभियान चलिरहेकाले त्यसको अन्तिममा जनप्रदर्शनका कार्यक्रमहरू गर्ने, सभाहरू गर्ने भनेर पहिल्यै भनेको र त्यसक्रममा काठमाडौंको कार्यक्रमचाहिँ एकैठाउँमा गर्न लागेको बताए ।
‘विरोध प्रदर्शन होइन, जनप्रदर्शन हो, जनप्रदर्शन भन्नु र विरोध प्रदर्शन भन्नुमा फरक छ,’ महासचिव गुरुङले भने, ‘यो कसैको विरोध र समर्थनभन्दा पनि विचारको कुरा जनतामाझ लैजाने हो ।’

केही समयअघि मात्रै प्रधानमन्त्री दाहालले बर्खा सकिएलगत्तै सडकमा लाखौं मान्छे उतार्ने चेतावनी दिएका थिए । त्यतिबेलै उनको अभिव्यक्तिको आलोचना भएको थियो । तर, उनले राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको जग हल्लाउन मान्छे उतार्ने उद्घोष गरेका थिए ।
माओवादी केन्द्रका महासचिव गुरुङले भने जनप्रदर्शन यसअघि सरकारमा भएका बेलामा कांग्रेस र एमालेजस्ता पार्टीले पनि गर्ने गरेको भन्दै आफूहरूको प्रदर्शन स्वाभाविक भएको बताए । उनले जनप्रदर्शनका क्रममा सरकारविरुद्ध कार्यक्रम नगर्ने पनि स्पष्ट पारे ।
प्रतिनिधिसभामा न्यून सिट संख्या भए तापनि सरकारको नेतृत्व गरिरहेको पार्टीले कतिबेला सत्ताबाट हट्नुपर्ने हो भन्ने अन्योल रहिरहेका बेलामा प्रधानमन्त्री दाहालले बेलाबखत विभिन्न अस्त्रमार्फत सत्ता साझेदार दल र विपक्षी पार्टीमाथि दबाब सिर्जना गर्दै आएका छन् ।
सडकमा मान्छे उतार्ने भनेर उनले गरेको घोषणा र पछिल्लो निर्णयलाई त्यही रूपमा बुझ्न सकिन्छ । यसले कतै माओवादी नेतृत्वको सरकार संकटउन्मुख भइसकेको त होइन भनेर आशंका गर्न पनि थपिएको छ । तर, माओवादी केन्द्रका प्रवक्ता सापकोटाले सत्ता जोगाउनका लागि जनप्रदर्शन नभएको भन्दै सो विषय अस्वीकार गरे । सत्ताबाट बाहिरिनुपर्ने संकेत पाएर आफूहरूले जनप्रदर्शन नगरेको भन्दै उनले यो पूर्वनिर्धारित कार्यक्रमकै रूपमा बुझ्नुपर्ने बताए ।
‘सरकारबाट बाहिरिनुपर्ने कुनै कारण वा संकेत छैन, त्यस्तो होइन, सरकारमा बसेर पनि राम्रो काम गरेका छौं, राम्रो कामको प्रचार गर्न र जनतालाई बुझाउन पनि यो प्रदर्शन आयोजना गरिएको हो,’ प्रवक्ता सापकोटाले भने, ‘मूलतः गणतन्त्रको रक्षा र अहिलेका उपलब्धिहरूको रक्षाका लागि यस्तो निर्णय गरिएको हो ।




