



बैतडी -भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै २१ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाकाे उपचार भइरहेकाे छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएकाे र ८ जनाकाे मृत्यु भएकाे बताए । कुशे गाउँपालिका भूकम्पकाे केन्द्रविन्दु रहेकाे बारेकाेट गाउँपालिकाकाे रामीडाँडासँगै जाेडिएकाे स्थान हाे ।




