


बैतडी- सेवा ग्राहीबाट काम गरिदिने भन्दै किस्ता किस्तामा घुस लिने बैतडी मालपाेत कार्यालयका हाकिम अशोक सार्कीको सरुवा भएकाे छ ।

कार्यालयमै घुस मागेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय बैतडीका प्रमुख सार्कीको सरुवा भएको हाे ।घुस लिएकाे भिडियाे सार्वजनिक भएपछि सार्कीकाे विभागमा सरुवा भएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।उनलाई विभागले तीन दिने स्पष्टीकरण साेधेर सरुवा गरेकाे हाे ।
गत बुधबार पाटन नगरपालिका– ८ का धनसिंह बिष्ट र नरबहादुर बिष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियो मिडियाहरूबाट सार्वजनिक भएको थियो।
छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको थियो भने ३० हजार रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएको थियो।




