


बैतडी -पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सुदूरपश्चिम आउन लागेका छन्। देउवा २५ गते बिहान १० बजे काठमाडौबाट हवाईमार्ग हुँदै सुदूरपश्चिम आउन लागेका हुन्। धनगढीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

उनका अनुसार डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवी देवताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको छ। देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउदले बताए।
कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ।
त्यसैगरी कार्तिक २८ पालिका स्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका( १ रुवाखोला जाने कार्यक्रम तय भएको छ। यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुने जिल्ला सभापति साउदले जानकारी दिए।




