


बैतडी -पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिए।
पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।




