


काठमाडौँ —‘जेन–जी’ आन्दोलनका बेला विभिन्न कारागार/बन्दीगृह र प्रहरी हिरासतबाट भागेकामध्ये करिब ७ हजार ८ सय ४३ कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार २ सय फरार छन् । फरारमध्ये करिब १ हजार विदेशी नागरिक हुन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा राज्यले दमन गरेको भोलिपल्ट प्रदर्शन भड्किएको मौकामा कारागार तथा प्रहरी हिरासत तोडफोड र आगजनी गरेर कैदीबन्दी एवं थुनुवा भागेका थिए । २४ भदौमा २८ वटा कारागार/बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड र आगजनी भएको थियो ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये बुधबार साँझसम्म करिब ७ हजार ४ सय ४३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार हिरासत कक्षबाट भागेकामध्ये करिब ४ सय थुनुवा पक्राउ परेछन् । उनीहरूमाथि हिरासत कक्ष फोडेर विध्वंस मच्चाएको अभियोगमा समेत अनुसन्धान हुने प्रहरी अधिकारीहरूले जनाएका छन् ।
विभाग र प्रहरीका अनुसार अझै करिब ६ हजार २ सय कैदीबन्दी र थुनुवा फरार छन् । फरार हुनेमा करिब १ हजार विदेशी कैदीबन्दी पनि छन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र अन्य मुलुकका नागरिक जेलमा तोडफोड र आगजनीको मौका छोपी २४ भदौमा फरार भएका थिए । आगजनी र तोडफोडपछि भागेका कतिपय कैदीबन्दी आफैं फर्किएका थिए भने अन्यलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
भागेका कैदीबन्दीमा लागूऔषध, हत्या, लुटपाट, बलात्कार, तस्करी, भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, विदेशी मुद्रा तस्करीलगायत अभियोगमा दोषी ठहर र पुर्पक्षमा रहेकाहरू छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत भागेका थिए । रायमाझी, पाण्डे र राई कारागार फर्किसकेका छन् ।




