


रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उहाँ रुसमा लोकप्रिय हुनुहुन्थ्यो । रुसको गृह मन्त्रालयले उहाँको ज्यान गएको पुष्टि गरेको छ । उहाँको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उहाँले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आउनु भएको थियो ।
युक्रेनको सीमा क्षेत्रमा उहाँले रिपोर्टिङ गर्नु भएको थियो भने गएको वर्ष उहाँले बनाउनु भएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उहाँले आफूहरुले जो सुकैलाई हराउने दाबी गर्नु भएको थियो । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विस्फोटक पदार्थ राखिएकोले विस्फोट भएको दाबी गरिएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विस्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।




