


महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी भन्छन्, ‘कटहरले हामीजस्ता लाखौं मानिसहरुलाई जिवितै राखेको छ । यसले हामीलाई भोकमरीबाट बँचाएको छ ।’
कुनै समय कामै नलाग्ने सम्झिएको र कसैले भाउ नै नदिने यो फल अहिले त्यहाँका मानिसहरुको प्राण धान्नका लागि ठूलो सहारा बनिरहेको छ । बजारमा अहिले एक केजी कटहर स्थानीय मुद्रामा २० रुपैयाँ पर्दछ । ४० वर्षीय करुप्पइया भन्छन्, ‘यो आर्थिक संकटभन्दा पहिले जसले पनि भात वा रोटी किनेर खान सक्ने हैसियतमा थिए । तर अहिले खाद्य पदार्थ महँगो भएका कारण धेरै मानिसहरु दिनहुँ कटहर नै खाएर गुजारिरहेका छन् ।’
आम्दानीको ७० प्रतिशत खानेकुरामा खर्च
नदिका परेरा
श्रीलंकामा अहिले करिब आधा मानिसहरू खानेकुराको अभावसँग जुधिरहेका छन् र उनीहरुको आम्दानीको ७० प्रतिशतभन्दा धेरै रकम खानेकुरामै खर्च भैरहेको छ ।
तीन सन्तानकी आमा नदिका परेरा भन्छिन्, ‘यसअघि हामीले दिनमा तीन पटक खाने गरेकोमा अहिले घटाएर २ पटकमा झारेका छौं । अघिल्लो वर्षसम्म १२ केजीको खाना पकाउने ग्यासको सिलिण्डरको भाउ पाँच डलर थियो ।’

तर सिलिन्डरको भाउ दोब्बर भएपछि अहिले उनले दाउराको आगो बालेर खाना पकाउँछिन् ।
सन् २०२२ मा इतिहासकै सबैभन्दा चरम वित्तीय संकट बेहोरेसँगै श्रीलंकामा मानिसहरुको आम्दानी घटेको छ र खाद्य पदार्थको मूल्यवृद्धि उच्च भएको छ ।
केही महिनादेखि लगातार भैरहेको विद्युत कटौती तथा इन्धनको अभावबाट आजित भएका मानिसहरुले गत वर्षको जुलाइमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेको सरकारी निवास नै कब्जा गरेका थिए र राष्ट्रपति भाग्नुपरेको थियो ।
तर त्यसपछि त्यहाँको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक संकट टार्नका लागि आर्थिक सहायता अर्थात् बेलआउट प्राप्त गर्न सफल भयो । त्यसपछि पनि श्रीलंकामा गरिबीको दर दोब्बर बनिसकेको छ ।
आफ्ना पति तथा बच्चाहरुसँगै नदिका राजधानी कोलम्बोमा दुईवटा बेडरुम भएको घरमा बस्दछिन् । उनी क्यारेमबोर्डको राष्ट्रिय प्रतियोगिताकी पूर्व उपच्याम्पियन पनि हुन् । तर अहिले उनी चरम आर्थिक अभावबाट गुज्रिरहेकी छिन् ।
क्यारेम एसियामा लोकप्रिय खेल हो । तर विद्यमान अवस्थामा रेफ्रीको पेसा ठप्प छ । त्यसैले कमाइ पनि बन्द भएको छ । परिवार पाल्ने आम्दानीका लागि उनका पतिले भाडाको ट्याक्सी चलाउने गरेका छन् ।
उनी भन्छिन्, ‘मूल्य ६ गुणा बढेका कारण हामीले मासु र अण्डा किन्न छाडिसक्यौं । बसभाडा महँगिएका कारण पैसा तिर्न नसकेर बच्चाहरुलाई पनि नियमित स्कुल पठाउन सकिएको छैन ।’
कुनै दिन विजुली र ग्याँस सस्तो होस् भनेर उनी प्रार्थना गर्ने गरेकी छिन् ।
यद्यपि श्रीलंकामा पछिल्लो समयमा महँगीको दर निकै कम भएकेा छ । फेब्रुअरीमा मुद्रास्फीति ५४ प्रतिशत रहेकोमा जुन महिनामा घटेर १२ प्रतिशत कायम भएको छ । तथापि मूल्यवृद्धिमा लगाम लगाउनका लागि सरकारले संघर्ष गरिरहनु परेको छ ।




