


बैतडी, यस वर्षको गौरा पर्वको विषयमा मत विभाजन भइरहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले भदौ ७ गते मनाउन विज्ञप्ती समेत जारी गरेको भएपनि यहाँका धर्म संस्कृतीका जानकारहरुले भदौ २१ गते नै गौरा मनाउनु पर्ने मत राख्दै आएका छन् । बैतडीमा ७ गते गौरा मनाउने तयारी भइरहेको स्थानीयस्तरका जानकारहरुले बताइरहेका छन् ।
गौरा पर्व मनाउनु अघि गौरा एकादशी अथवा पुत्रदा एकादशीको ब्रत लिने चलन छ । यो बर्ष भदौ १० गते गौरा एकादशी परेकाले भदौ २१ गते नै गौराको उपयुक्त तिथीमिति रहेको पण्डीत जगदीश ओझाले बताए ।
पञ्जांग निर्णयाक समितले बनाएको सुत्रका आधारमा समेत २२ गते बिहान अगस्तोदय हुने भएकाले २१ गते दुर्वाष्टमी वर्त बस्दा कुनै फरक नपर्ने ज्योतिष पुष्करराज भट्टले बताए । उाहाले २१ गते नै गौरा मनाउन उपयुक्त रहेको समेत बताए । हामिले आफ्नो परम्परा अनुसार गौरा बनाउन पाउनुपर्ने उनको माग छ । यसरी दोहोरो भूमिकाले सुदूरपश्चिमबासी अन्योलमा परेको समेत उनले बताए ।

जुनसुकै अवस्थामा पनि गौरा पर्व एकै समयमा मनाउनुपर्ने स्थानीयहरुको माग रहेको छ । पुजाअजा र चिनोबानो चढाउनको लागि सबै क्षेत्रका भक्तजनहरु फरक फरक क्षेत्रमा पूजाआजाका लागि जाने भएकाले अन्योल छाएको छ ।
स्थानीय स्तरमा २१ गते गौरा मनाएको अवस्थामा २२ गते सेलाउनुपर्ने अवस्था आएको हुनाले ७ गते नै गौरा मनाउनुपर्नेमा जोड दिइएको छ । तर ठोस निष्कर्ष निस्कन सकेको छैन ।
रौलाकेदार आलमा ७ गते नै गौरा पर्व मनाउने तयारी भइरहेको रौला केदारका पुजारी विष्णुत्त भट्टले बताए । अगस्तीको प्रभाव रहेकाले २१ गते गौरा पर्व मनाउन नसकिने उनले बताए ।
यसैगरी ‘गुगल्डि बाङमय प्रतिष्ठान’विगतको परम्परा अनुसार गौरा मनाउने निर्णय गरेको छ । गौरापर्व भाद्र कृष्ण अथवा शुक्ल पक्षमा पर्ने निष्कर्ष निकाल्दै प्रतिष्ठानले भदौ २१ गते नै गौरा मनाउने निर्णय गरेको हो ।
गौरा पर्वको विषयमा सुदूरपश्चिमले पनि आधिकारीक धारणा राख्नुपर्ने स्थानीयहरुको माग रहेको छ । धर्मसंस्कृतीका जानकार, विषेशज्ञ थता सरोकारवाला निकायसँग समन्वय गरि सरकारले आधिकारिक धारणा सार्बजनिक गर्नुपर्ने माग गरिएको छ ।




