


काठमाडौँ — अनलाइनमार्फत् शिव कृष्ण जनरल स्टोरमा २५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।
उनले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार उनीहरूले जितेका हुन् ।
आज १५ जनालाई एक–एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ उपहार घोषणा गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी गरेको थियो ।
यही साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा वस्तु तथा सेवाको कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको हो ।
जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरी एक–एक लाख रुपैयाँ नगद उपहार पाएका छन् ।
यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्तामध्ये एक जनाका लागि १० लाख रुपैयाँको बम्पर उपहार घोषणा गरिएको थियो । उक्त उपहार एक जनाले जितेका हुन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।




