


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा दोगडाकेदार गाउपालिका वडा नं -१ मा रहेको पञचदेव महानन्द मावि रिममा जलवायु परिवर्तन र यसले निम्त्याएको डर लाग्दो संकट तथा यसको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

श्रीकोट बहुमुखी क्याम्पसले बुधबार पञचदेव महानन्द माध्यमिक विधालय रिममा शिक्षक,कर्मचारी विधार्थी, र जनप्रतिनिधिहरुका लागि जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा जलवायु परिवर्तनबारे जानकारी सहित मौसम र जलवायु फरक, हरितगृह ग्याँस र हरितगृह प्रभाव, हरितगृह ग्याँस उत्सर्जनका स्रोत, विश्व उष्णीकरण र जलवायु परिवर्तन, जलवायु परिवर्तनका सूचक, नेपालमा जलवायु परिवर्तनले पारेका असर, जलवायु परिवर्तनसँग जुध्ने तरिका र न्यूनीकरणका उपायहरुका बारेमा अभिमुखिकरण गरिएको थियो ।


कार्यक्रममा श्रीकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान सिँह कार्किले बोल्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवश्यक नीति र कार्यक्रम तय गरेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिदै नेपालमा जलवायु परिवर्तनले जिविकोपार्जनका क्षेत्रहरु कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, पानीका स्रोत र उर्जा उत्पादन, मानव स्वास्थ्य, जलवायु उत्पन्न प्रकोप, विगत केहि दशकदेखि पानी पर्ने दर र प्रकृयामा फेरबदल आएको, पृथ्वीको सतहको औसत तापक्रम बढेको, हिमालमा हिउँ रित्तिदै गएको, नयाँ नयाँ रोग किराहरुको प्रकोप बढेको, बिपदजन्य घटनाहरु र त्यसबाट हुने क्षति बढेको, जैविक विविधताको लोप हुँदै गएको अवस्थाको बारेमा जानकारी गराए।

क्याम्पसले समुदाय स्तरमा पनि जलवायु परिवर्तनबारे सचेतनाका कार्यक्रम सहित दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीति तर्जुमाका लागि टेवा पुर्याउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको क्याम्पस प्रमुख कार्किले बताए। कार्यक्रममा प्रशिक्षक,विधालयका शिक्षक, विधार्थी, कर्मचारी, जनप्रतिनिधि लगायत स्थानियको उपस्थिती रहेको थियो।




